भरतपुर महानगर प्रमुख दाहालद्वारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट  जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छिन् ।

भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन् ।

मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखिन् ।
“रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन,” उनले भनिन्,”अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।”

प्रमुख दाहालले अहिलेको विषयलाई पुनरावलोकन हुनुप¥यो भनि स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पारिन् । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रममा मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए। केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए । यस्ता आयोजनाहरु जनतासँगको छलफलको निश्कर्षपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रष्ट पारे ।

छलफलका क्रममा चितवनका राजनैतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । उनीहरुले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए ।