नेपालको निर्यात ७ प्रतिशतले घट्दा आयात ३ प्रतिशतले घट्यो


काठमाडौँ । नेपालको कुल व्यापार ३.४७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पुषसम्मको तथ्यांक अनुसार नेपालको कुल व्यापार ३.४७ प्रतिशतले घटेको देखिएको हो ।

नेपालले चालू आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालले ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको कुल व्यापार गरेको थियो ।

यो ६ महिनाको अवधिमा नेपालको आयात र निर्यात पनि घटेको छ । गत आर्थिक वर्षको तु्लनामा चालू आर्थिक वर्षको यहि अवधिमा नेपालको आयात निर्यात घटेको हो । नेपालले गर्ने आयात ३.०९ प्रतिशतले घटेको छ भने निर्यात ७.२३ प्रतिशतले घटेको हो ।

नेपालले चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

यो अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालले ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको कुल व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।