लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन


काठमाडाैँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । 

डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

बौद्ध भिक्षुणी  डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ ।

डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पती शुद्धीकरणको मुद्दालाई यथाशिघ्र टुंगोमा पु¥याउनुपर्ने उनीहरुको माग छ । विरोध प्रदर्शनमा सहभागि हरिजन विकले आफूहरु कुनै जाता वा धर्मको विरोधी नभएको स्पष्ट पारे ।

उनले सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै उनले डोल्माको नियुक्ति खारेज  गर्न समेत माग गरे ।

उनले भने, “हामी कुनै जात, धर्म र समुदायको विरोधी होइनौँ । जहाँसम्म नेपालको प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्तिमा नागरिकताको समस्या भएकै व्यक्ति आइराख्नुभएको छ यसमा हाम्रो घोर आपत्ति हो । उहाँ आउनुमा पनि हामीलाई कुनै समस्या छैन । तर यो सरकारले उहाँ नेपाली नागरिक हुनुहुन्छ कि हुनुन्न भन्नेकुरा स्पष्ट पार्नुपर्यो । यो सरकारले कुन कुरा सत्य हो प्रमाणित गरिदिनुप¥यो ।”

अर्का प्रदर्शनकारी विष्णु गुरुङले लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको झमेला आउनु नै तामाङ समूदायको लागि स्वीकार्य नभएको बताए ।

तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको उनको भनाइ छ । उनले भोलिको दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरु आन्दोलनमा आएको बताए ।

उनले भने, “तामाङ समूदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने हाम्रो माग हो । यदि उहाँ तामाङ हो भने ठिकै छ नभए तामाङको नागरिकता कसरी पाउनुभयो उहाँले ? उहाँको नागरिकतामाथि पनि किन यस्तो झमेला आयो । अहिले उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने, तर भोलिको दिनमा होइन तिम्रो त नागरिकता नै नेपाली होइन भनेर नागरिकता खोसेर बेला नबनाओस् सरकारले भनेर आन्दोलनमा आएका हौँ । हाम्रो उहाँप्रति कुनै दुष्टता छैन । सरकारले उहाँको नागरिकताको विषय स्पष्ट पारोस् ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । –न्युज एजेन्सी नेपाल