‘२०८१-२०९१ आन्तरिक रोजगार प्रवद्र्धन दशक’


काठमाडौँ । सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउने भएको छ ।

काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको तयारीबारे जानकारी गराएका हुन् ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए ।

मन्त्री भण्डारीले भने,“वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित गर्दै, यसमा भएका विभिन्न अनियमितताको नियन्त्रण गर्दै अहिलेको अवस्थामा जबसम्म हामीले विकल्प दिँदैनौँ तबसम्म त्यसलाई व्यवस्थित गर्ने हो । वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो । त्यसकै गृहकार्यमा लागेका छौँ ।”

आन्तरिक रोजगारी बढाउन नसकेसम्म वैदेशिक रोजगारीमा जाने विषयलाई व्यवस्थित र अनियमितताको नियन्त्रण गरेर मर्यादित बताउनुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको भन्दै मन्त्री भण्डारीले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे ।

उनले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाहरूको बारेमा पनि तथ्याङ्क सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

उनले भने,“ हामीले ज्यादै ठुलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ की हाम्रा सबै युवा बाहिर गइरहेका छन् भनेर । मानौँ मुलुक नै खालि भइसक्यो भन्ने खालको मानसिकताका पनि छौँ । यो बाध्यात्मक अवस्था हो भन्नेकुरा सबैले महशुस गरिरहेका छौँ । अहिले मुलुकको आर्थिक अवस्था केही न केही सुधार भइरहेको छ ।”

मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ सय ५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए ।