‘भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी’


काठमाडौँ । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी भएको व्यवसायीहरूले दाबी गरेका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको आरोप लगाए ।

उनीहरूले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने र बेलुका ट्रकमा गाउँगाउँमा पु¥याउने गरिएको दाबी गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्नेमा जोड दिए ।

नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाईपूर्ण रुपमा डिजिटलाइज बनाएर राजस्वमा वृद्धि गर्न आवश्यक रहेको उनको भनाई थियो ।

पछिल्लो समय अर्थतन्त्र सकारात्मक बन्दै गएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनको लागि कर्जाको दोब्बर ब्याजदरलाई सिङ्गल डिजिटमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

उनले बैंकहरूमा रहेको ६ खर्ब भन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र सेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजस्व गुमाइरहेको दाबी गरे । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन उनले आग्रह गरे ।

भारतबाट मालवाह गाडी खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे ।

अध्यक्ष अग्रवालले भने,“ भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजस्व गुमाइरहेको छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ । भारतबाट मालवाह सवारीहरू खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टा कुनै शुल्क नलाग्ने व्यवस्था र नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्न माग गर्दछु ।”

भारतबाट अवैध कारोबार हुनुमा १३ प्रतिशतको भ्याटको व्यवस्थाको कारण भएको अध्यक्ष अग्रवालको दाबी छ ।

भारतमा ५ प्रतिशत र नेपालमा १३ प्रतिशत कर लाग्ने भएकाले मूल्यको अन्तरको कारण भारतबाट नेपालमा अवैध व्यापार भइरहेको उनको भनाई थियो ।