छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला सम्पन्र,२८ हजारले गरे अवलोकन


काठमाडाैँ । कृषि क्षेत्रमा प्रविधि भित्र्याउने उद्देश्यले गरिएको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला सम्पन्र भएकाे छ ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रूपमा गत शुक्रवारदेखि आइतबार (आज) सम्म काठमाडौँको भृकुटीमण्डपमा गरेको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला सकिएको हो ।

मेलामा किसानलाई आवश्यक प्रविधिमात्रै नभई उत्पादनदेखि बजारीकरणसम्मका विषयबारे जानकारी गराइएको थियो । मेलामा नेपाल, भारत, चीन, जर्मनी, टर्की र जापानका कम्पनीले भाग लिएका थिए । नेपालको पहाडी भूभागका लागि उपयुक्त हुने जापानी प्रविधिको मोनोरेलदेखि अन्य कृषि प्रविधिहरुको प्रदर्शनी गरिएको थियो ।

मेलाका संयोजक सिर्जल भट्टराईले विगतका मेलाहरू भन्दा छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला राम्रो भएको बताए । उनले मेलामा सहभागितामा देखिएको उत्साह,किसानहरूको मेला अवलोकन र सेमिनारहरूमा उठेको जिज्ञासाका आधारमा आयोजकले सोचेको भन्दा उत्कृष्ट रहेको बताए ।

मेलामा २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा भए पनि करिव २८ हजार किसानले मेलाको अवलोकन गरेको बताए । छैटौं नेपाल एग्रोटेकमा सहभागी कोल्ड स्टोर उद्योग नेपकुल इन्ड्रष्ट्रिज प्रा.लि सञ्चालक फेकन महतोले कृषिलाई सुधार गर्न नेपालका बनेका कृषि प्रविधिको बारेमा जानकारी दिन जरुरी रहेको बताए ।

मेलामा प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादीरहित कृषि आदिका बारेमा जानकारी समेत दिइएको थियो । मेलामा देशभरबाट उद्यमी,अनुसन्धानकर्ता, विद्यार्थी, किसानहरूले अवलोकन गरेका थिए ।