नाडाले भेट्यो अर्थमन्त्री, भन्सार जाँचपासमा कडाइ गर्न माग


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरू ल्याउन आग्रह गरेका छन् ।

यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने नेपालमा माल बाहक इन्डियन ट्रक निर्वाध रूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न दिनाले नेपाली गाडी व्यवसायीकाे व्यापार घट्दै गएकोले २४ घण्टाको समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किलाेमिटर सम्म मात्र संचालन गर्न दिने व्यवस्था हुनुपर्ने बताएका छन् ।

त्यस्तै खुल्ला सीमानाको कारणले गर्दा अनधिकृत रूपमा नेपालतर्फ टायर तथा अटोमोबाइल स्पेयर पार्टस् आयातको कारण नेपालमा त्यसको व्यवसाय घट्दै गएकोले सिमानाको जाँचपासमा कडाइ गर्न नाडाले अर्थमन्त्री महतलाई आग्रह गरेका छन् ।

कारोबार तथा व्यवसाय घट्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मापदण्डले झन् अप्ठ्यारो स्थिती सृजना गरेकाे बताउँदै महासचिव उप्रेतीले तत्काल चालु पुँजी कर्जा मापदण्ड स्थगित गर्नुपर्ने बताएका छन् ।

त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैंकहरूबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टू भ्यालु रेसियो’ मा हाल ५० प्रतिशतको सिमा तोकिएको छ जसले गर्दा अटोमोबाइल व्यवसाय गाम्भिर रूपले प्रभावित बनेकाले ‘लोन टू भ्यालु’ ५० प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने नाडाको अर्थमन्त्रीसँग माग छ ।

बैंक तथा वित्तिय निकायहरूलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गर्नुपर्ने नाडाकाे माग छ ।

त्यसैगरि नेपालमा उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, ब्याट्री, लुब्रिकेन्टस् टायरहरू निर्यात गर्दा अन्य निर्यात वस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित ब्याट्री तथा टायरहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्था बनाउनकाे लागि नाडाका अध्यक्ष चाैधरीले अर्थमन्त्री महतसँग अपिल गरेका छन् ।

स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोबाइल सम्बन्धी एसेम्बिलङ्ग उद्योग, अटोमोबाइल स्पेयर पार्टस् उद्योग, टायर उद्योग, लुब्रिकेन्टस् उद्योग तथा ब्याट्री उद्योगहरूको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोबाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताउँदै नेपालमा लुब्रिकेन्टस् उद्योगहरू भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुब्रिकेन्टस्हरू मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने नाडाको माग छ ।

छलफलको अन्त्यमा अर्थमन्त्री महतले नाडाको तर्फबाट राखिएका नीतिगत सुझावहरूप्रति जिज्ञासा राख्दै त्यी सुझावहरूका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताएका छन् ।

उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।