धुम्बाराहीको अकामा होटल विश्व विख्यात ब्राण्ड ‘रमडा’ को नामबाट सञ्चालन हुने


काठमाडाैँ । काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा रहेकाे अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’ (रमडा बाइ वाइन्डम) को नामबाट सञ्चालन हुने भएको छ ।

बुधबार भएकाे कार्यक्रममा अकामा होटल र विश्व विख्यात ब्राण्ड ‘रमडा’बीच यस सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो । अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अर्न्तराष्ट्रिय स्तरको लोकप्रिय तथा प्रतिष्ठित चेन होटेल वाइन्डम हाेटल्स एण्ड रिसाेर्टसँग फ्रेनचाईजीका लागि सम्झौता गरिएको होटेलले जानकारी दिएको छ ।

सानिमा ग्रुपबाट प्रवर्द्धित यो होटेल सुरुमा चार तारेबाट सञ्चालित भई २०८०/०८/२९ मा स्तरोन्नती भई पाँच तारे अकामा होटल भएको थियो । अब छिटै नै अमेरिकी चेन होटल ब्राण्डकाे नामबाट सञ्चालन हुने र यसबाट होटल उच्चस्तरीय सुविधायुक्त हुने कम्पनीले जनाएको छ ।

सन् २०१९ को फेब्रुअरीबाट ‘सफ्ट लञ्च’ भई सोही वर्षको करिब अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आएको अकामा होटल १ सय २० भन्दा बढी देशमा पुगेको रमडा ब्राण्डवाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण भएको कम्पनीले उल्लेख गरेको छ ।

यसबाट नेपालको पर्यटन, होटल तथा आतिथ्यताको क्षेत्रमा योगदान पुग्न गई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास होटेलले व्यक्त गरेको छ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर–९५, डिलक्स– ६, डिलक्स स्विट– ४, फेमिलि स्विट– २, प्रेसिडेन्टल स्विट– १ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन्।

न्युनतम २० देखी ६५० जना सम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेकाे कम्पनीले जनाएकाे छ । यस होटलमा हाल १३० जना कर्मचारीहरु कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ ।

यस अकामा होटलले निकट भविष्यमा सर्वसाधारण जनतामा समेत शेयर जारी गर्ने तयारी गरी अघि बढिसकेको समेत कम्पनीले जनाएको छ।