काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताएका हुन् । अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उहाँले कांग्रेस आफैँमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी गरे ।
नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोईरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए । काँग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोईरालाले वीपी कोईराला र कृष्णप्रसाद कोईरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराए ।
आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै डा. कोईरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । उनले पार्टीको इतिहास र सिद्धान्तलाई गहिराइपूर्वक बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।


प्रतिक्रिया दिनुहोस्