‘क्यान इन्फोटेक २०२४’ सुरू, यस्ता छन् नयाँ प्रविधि (फाेटाेफिचर)


काठमाडौँ । यस वर्षको क्यान एन्फोटेक २०२४ आज (बिहिवार)देखि काठमाडौँमा सुरू भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) काे आयाेजनामा आज (माघ २५) देखि माघ २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला सुरू भएकाे हाे ।

मेलाकाे उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  गरेकी हुन् । मेलाको उद्धघाटन गर्दै शर्माले सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको जानकारी दिंदै नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वायनमा ल्याइएको र डाटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी दिइन् ।

पाँच दिनसम्म चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहेकाे क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले जानकारी दिए । पाेदारका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ।त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ।

क्यान इन्फोटेकको टिकेटिङ पार्टनर इसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि १०० रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ शुल्क तोकिएको छ।

जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ।