‘क्यान इन्फोटेक २०२४’मा अवलोकनकर्ताको भीड, यस्ता छन् विशेष छुट र आकर्षक अफर


काठमाडाैँ । काठमाडाैँकाे भृकुटीमण्डपमा बिहीवारदेखि सुरू भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।

इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।

इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

त्यस्तै इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।

त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । जसमा ग्राहकले सेटटप बक्स निःशुल्क पाउनुका साथै ल्यान्डलाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउने आयाेजकले जनाएकाे छ ।

इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ ।

इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ ।

प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै नेपाली ब्राण्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका आयाेजकले जनाएकाे छ ।

इन्फोटेककै अवसरमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सार्वजनिक भएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । त्यस्तै नेपालको पहिलो बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित ‘बगभी’को स्टलमा साइबर सुरक्षा अनुसन्धानकर्मी तथा जिज्ञासुहरूको आकर्षण देखिएकाे क्यान महासंघका अध्यक्ष पाेदारले बताए ।

साथै इन्फोटेकमा आफ्नो स्टल भिजिट गर्ने विद्यार्थीले ‘एमएस्सी आईटीएम’ डिग्रीमा विशेष छुट दिने कलेजले जनाएको छ । यसअन्तर्गत ६ लाख शुल्क लाग्ने यो डिग्री अब साढे ४ लाखमै पढ्न पाइनेछ ।

इन्फोटेककै अवसर पारी एफवन सफ्ट ग्रुपले ‘जुम जुम’ नामको राइड शेयरिङ प्लेटफर्म घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले प्रोमोकोड प्रयोग गरी पहिलो तीन राइड सेवा निःशुल्क लिन पाउने भएका छन् ।

त्यस्तै सीजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ । यसअन्तर्गत जुनसुकै ब्राण्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन् । साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउने आयाेजकले जनाएकाे छ ।

क्यान इन्फोटेकको अर्को आकर्षणमा काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन प्याभिलियन रहेको छ । यसअन्तर्गत काठमाडौँ महानगरले १० उत्कृष्ट स्टार्टअपहरूलाई इन्फोटेकमा सहभागि गराएको छ । यसबाट स्टार्टअपलाई आफ्ना ग्राहकसँग जोड्न मद्दत मिल्ने तथा नागरिकहरूमाझ स्टार्टअप र उद्यमशीलता मानसिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

त्यस्तै कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् ।

करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी भालि (सोमवार) सम्म चल्ने छ । यसअन्तर्गत हिजाे (शनिबार) नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल, पूर्व अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कलाकार तथा सूचना प्रविधिप्रेमीले मेला अवलोकन गरेका थिए ।