सकियो ‘क्यान इन्फोटेक २०२४’, दुई लाखले अवलोकन गरेको आयोजकको दाबी


काठमाडौँ । सूचना प्रविधिमा रूचि राख्ने दुई लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ ‘क्यान इन्फोटेक २०२४’ सम्पन्र भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमा क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरूसहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरू, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरू, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेकाे आयाेजकले जनाएकाे छ ।

इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको दाबी गरे ।

यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए ।

‘क्यान इन्फोटेक २०२४’ को मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको थियाे । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा रहेकाे थियाे  ।

त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा.लि रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका थिए ।

करिब १५० स्टलको सहभागिता रहेको प्रर्दशनीमा कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे ।

मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।