बजेट कटौती गरेको होइन: अर्थमन्त्री डा. महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कटौती गरेको भनेर भ्रम सिर्जना गरिएको बताएका छन् ।

शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले सरकारले बजेट कटौती गरेको भनेर भ्रम फैलाइएको बताएका हुन् ।

चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षाबाट बजेटको आकार घटाइएको थियो । त्यही घटाएको बजेटलाई बजेट कटौती भनेर समाचार सम्प्रेषण भएको भन्दै उनले ध्यानाकर्षण भएको बताए ।

चालू आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले मा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट अर्धवार्षिक समीक्षा त्यसको आकार घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमात्रै खर्च हुने अनुमान गरेका थिए । सोही घटाएको आकारलाई सञ्चारमाध्यमले बजेट कटौती भनेर भ्रम फैलाएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले संसदले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताए ।

अर्थमन्त्री डा. महतले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको बताएका छन् । उनले योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले १८ खर्बको बजेट सिलिङ तोकेको जानकारी पाएको बताएका हुन् ।