३० लाख कित्ता आईपीओ ल्याउँदै इष्टर्न साहारा


काठमाडौँ । इष्टर्न साहारा कम्पनी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको आईपीओ निष्कासन गर्ने जनाएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एक कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

इष्टर्न साहारा कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय बिर्तामोड नगरपालिका चारपाने झापामा रहेको छ । कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङ्गलाई प्रवद्र्धन गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।

हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रीन फाइनान्सिङ्गमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।