नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना छ: अर्थमन्त्री महत


काठमाडौँ ।अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको बताएका छन् । शुक्रवार इप्पानले आयोजना गरेको जलविद्युत बिमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको र उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका हुन् ।

उनले पछिल्लो समय दक्षिण एशियाका देशहरूमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको बताउँदै भारत लगायत बाहिरी लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गरे ।

उनले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताए । उनले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरू पनि सकारात्मक देखिएको बताए ।

उनले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताए ।

महतले बिमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताउँदै उनले कम्पनीहरूले बिमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताए । महतले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताउँदै क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, “जलविद्युतको क्षेत्र समस्यारहित छैन । ती समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको छ । वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको छ । सहज गर्ने काम गरिरहेका छौं । बसाईंसराई भएर गाउँ खाली भएसँगै गाउँघर पनि जङ्गल बन्दै गएका छन् । अहिले नेपालको जङ्गल २७ बाट ४५ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रको बिमाका सन्र्दभमा नेपालीहरूको प्रवृत्ति तत्काल रिटन आउनुपर्ने रहेको छ ।”

बिमाका सन्दर्भमा जोखिमलाई हेरेर सोहिअनुसारको दर कायम गरे कुनैपनि समस्या नआउने बताएका छन् ।