बजेट अर्थमन्त्रीको पेवा होइन,जथाभावी नगरौंः सांसद सुवाल


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् ।

सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस बिरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरूखुरू आफैँले लेख्न नपाउने बताए । उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, “सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन । यो अध्यादेशमा समेट्नुपर्ने विषयतर्फ म अर्थमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु । बजेटको व्याख्यात्मक टिप्पणीमा कुन सांसदको सुझाव हो, त्यो बजेट पर्नुकोकारण । त्यो समेत राख्नुपर्छ । अर्थमन्त्रीले खुरुखुरु लेख्ने प्रजातन्त्र होइन । संसद सदस्यको, संसदको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र हो । अर्थ मन्त्रालयको कोष भनेको जनताको राजश्व हो । अर्थमन्त्री पेवा होइन । अर्थमन्त्रीले यो मेरो ढुकुटी हो । यो मैले छुन दिन्न भन्न पाउँदैन ।”

सांसद सुवालले सरकारले बजेटमा राख्ने कुनैपनि शिर्षक सांसदको सुझावको आधारमा मात्रै हुनुपर्ने जिकिर पनि गरे ।