भरतपुर महानगरपालिकामा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन


चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको आज उदघाटन गरेकी हुन् । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस गरेको उनको भनाई थियो ।

“पहिलाको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन,उहाँले भन्नुभयो,‘एक बाली हुने ठाँउमा ४ बाली हुन थालेको छ । अहिले कृषकहरु खुसी भएको पाएका छु । १२ महिना भरत पुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ ।”

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालको भनाई छ ।

प्रमुख दाहालले पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरू अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुने क्रम सुरु भएको बताइन् ।

कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको दाबी गरे ।

भरतपुरमा भएका ट्युबवेलले कुल ६ हजार १ सय २० विघा क्षेत्रफलमा सिँचाईका सुविधा प्राप्त गरेका छन् ।

यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।