भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा


चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने महानगरपालिकाले जनाएको छ ।

करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ र विभिन्न साँस्कृतिक झाँकीहरू प्रर्दशन गरिने छ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।

‘घुमाैँ भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ ।

यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरू गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ ।

भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन् ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्राउने महानगरले लक्ष्य लिएको छ ।