डेरी एसोसिएसनद्धारा दूग्ध क्षेत्रमा देखिएको समस्या र समाधान गर्नुपर्ने उपाय कृषि मन्त्री समक्ष पेश


काठमाडाैँ । गत शुक्रबार नेपाल डेरी एसोसिएसनद्धारा आयोजित वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान सम्वन्धि सरोकारबालाबिच अन्तरक्रियामा आएका सुझावहरू एसोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई बुझाएकाे छ ।

आज (मंगलबार) नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, ,उपाध्यक्ष दिपप्रसाद धमाल र डेरि विज्ञ सुवास ढकाल सहितकाे टाेलिले उक्त सुझाव पत्र मन्त्री भुसाललाई बुझाएको हाे ।

उक्त भेटघाटमा एसोसिएसनका अध्यक्ष दाहालले पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको बजार प्रवद्र्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू संचालन गर्दै आएको मन्त्री भुसाललाई जानकारी गराएका थिए ।

एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना र विद्यार्थीको खाजामा अनिवार्यरूपमा दुध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने मन्त्री भुसालसँग माग गरेकाे छ।

दाहालले भने, “हामीले आज उहाँको निवासमा पुगेर उक्त सुझावहरू बुझाएका छौँ । उहाँ पनि पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न तर्फ सकारात्मक हुनुहुन्छ ।”