दानाका लागि आवश्यक मकै खेती प्रवर्धन गर्दै श्रीनगर एग्रिटेक, ६ सय बढीले लिए तालिम


बुटवल। मकै लगाउने सिजन नजिकिँदै गर्दै गर्दा लुम्बिनी प्रदेशका मकै पकेट क्षेत्रहरूमा मकै खेती प्रवर्धनका लागि मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न भएको छ । 

प्रदेश कृषि सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेश, श्रीनगर एग्रिटेक इन्डिस्ट्रिज लिमिटेड र स्थानीय साना किसान कृषि सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा ‘पोल्ट्रीको लागि साझेदारी कार्यक्रम’ अन्तर्गत एक दिवसीय तालिम सम्पन्न भएका हुन्। 

पोल्ट्रीको लागि स्वदेशमै माग अनुसारको दाना उत्पादन वृद्धि तथा बजार सुनिश्चित गरी साना किसानको लागि आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले लागू गरिएको कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिजका प्रवन्ध निर्देशक सतिश श्रेष्ठले बताए । 

माघ तेस्रो सातादेखि सोमवारसम्म मात्र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका मकै पकेट क्षेत्रमा स्थानीय सहकारीको सहकार्यमा दर्जन तालिम आयोजना भएका छन् । तालिममा ६ सय २५ भन्दा बढीको सहभागिता रहको रहको श्रीनगरले जनाएको छ । 

तालिमको मुख्य सहजकर्ताका रूपमा श्रीनगर एग्रिटेकका मकै विशेषज्ञ मनोज चौधरी रहेका थिए । लुम्बिनी प्रदेश कृषि सहकारी संघको तर्फबाट एक जना तालिमको सहजीकरण गरेका थिए भने स्थानीय साना किसान कृषि सहकारी संघले पकेट क्षेत्र तथा कृषकको सहभागिता तथा स्थानीय व्यवस्थापनको कार्य गरेका थिए । 

पश्चिम नेपालमा पोल्ट्री क्षेत्रमा विश्वास कमाएको श्रीनगरले दाना उत्पादनमा मात्र ५ देखि ६ हजार मेट्रिक टन मकै खरिद गर्दै आएको छ । उद्योगलाइ दाना उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थको स्वदेशमै आपूर्ति बढाउन साना किसान सहकारीसँगको सहकार्यमा श्रीनगरले प्रवर्धनको कार्यक्रम अगाडि बढाएको हो।

श्रीनगरले कुखुरा, माछा, गाइ भैसीको दानासमेत उत्पादन गर्द आएको छ । पहेंलो जातको उन्नत तथा हाइब्रिड मकै आवश्यक पर्ने भएकाले गुणस्तरिय मकै उत्पादनको लागि तालिमहरू सञ्चालन गरेको र आवश्यकता अनुसार रिफ्रेसर तालिम पनि आयोजना गरिने श्रीनगरका परियोजना व्यवस्थापक दिनेश क्षेत्रीले बताए । 

नेपालमा दानाको लागि आवश्यक पर्ने मकै स्वदेशमै उत्पादन न्युन हुँदा आयातमै निर्भर हुने अवस्था छ । आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड १७ लाख किलो मकै आयात हुँदा १८ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ। 

सोमवार मात्र बाँकेमा स्थानीय साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा ६० जनाको सहभागितामा बर्दियामा मकै खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । यसैगरी आइतवार मात्र बाँकेमा एभरेष्ट साना किसान कृषि सहकारी वैजनाथको स्थानीय व्यवस्थापनमा ७९ जनाको सहभागितामा तालिम सम्पन्न भएको थियो। 

फागुन ४ देखि ६ गतेसम्म वसन्त साना किसान सहकारी राजापुर, दोधारी साना किसान सहकारी र गाउँघर साना किसान सहकारीको स्थानीय व्यवस्थापनमा छुट्टाछुट्टै तालिम मकै सम्बन्धी सम्पन्न भएको थियो। 

मकै खेती सम्बन्धी तालिम माघ २३ गते हिमपात साना किसान सहकारी चन्द्रौटाको स्थानीय व्यवस्थापनमा कपिलवस्तुबाट सुरू गरिएको थियो । सो तालिममा ३२ महिलासहित ४८ जना सहभागी थिए। 

कपिलवस्तुमै साना किसान सहकारी खटिया मनाङ्लापुरको स्थानीय व्यवस्थापनमा फागुन ३ गते र कपिलवस्तु चेम्बर बाहुनदेसिया सहकारीको स्थानीय व्यवस्थापनमा फागुन ६ गते सम्पन्न भएको थियो । दुइ तालिममा कुल ८१ जना सहभागी भएका थिए। 

फागुन ५ गते रूपन्देहीमा माछा खेति सम्बन्धी तालिम पनि दिइएको थियो । निरन्तर रूपमा गाइभैसी, माछा, कुखुरा पालन सम्बन्धि तालिमहरू दिएर वर्षेनी किसानलाइ सहजीकरण गरिरहेको श्रीनगर एग्रिटेकले जनाएको छ ।