नेपालबाट उडेको इन्डिगो एयरका यात्रु ४८ घण्टादेखि मुम्बईमा अलपत्र, एयरपोर्टभित्रै नाराबाजी


काठमाडौं । नेपालबाट बुधबार दिउँसो ३ बजे यात्रुसहित उडेको भारतीय वायुसेवा कम्पनी इन्डिगोका यात्रु ४८ घण्टादेखि अलपत्र परेका छन्। बुधबार राति मुम्बई पुगेका यात्रु शुक्रबार दिउँसाेसम्म मुम्बईकाे विमानस्थलमा अड्किएका छन् ।

बुधबार साँझ करिब ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको इन्डिगो एयरको विमान मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा ताेकिएकाे समयमा अवतरण गरेकाे थियाे । ट्रान्जिटका लागि मुम्बई ओर्लिएका यात्रुलाई करिब १२ घण्टापछि बिहिबार बिहान ६ बजेको उडानमार्फत टर्कीकाे इस्तनबुल लैजानुपर्नेमा टेक्निकल इस्यु बताएर फ्लाइट पटक पटक डीले गराउँदा मुम्बईबाट टर्की र माल्टा जाने यात्रु अलपत्र परेका छन्।

टक्सारकाे सम्पर्कमा आएका नेपाली यात्रुले एयरलाइन्सको फितलो व्यावस्थापनले आफु मुम्बइबाट टर्की हुँदै माल्टा जानुपर्ने फ्लाइटको सेड्यल छुटेको बताए । “बिहिबार बिहान ६ बजेको फ्लाइट सरेर १०:४० मा उड्छ भनियो,” नेपालबाट माल्टाका लागि उडेका विशाल (नाम परिवर्तन) ले भने, “फेरी १०:४० काे उक्त सेड्युल दिउँसाे ३:३० मा सरेको माइकिङ्ग गरेर जानकारी समेत दिइएन ।”

३:३० मा हुँने भनिएको फ्लाइट पुन: बिहिबार राती १० बजे उड्ने सुचना दिएपनि फ्लाइट हुँन सकेन् । फ्लाइट डीले भएपछि यात्रुको खाना र सुत्ने व्यावस्था एयरलाइन्सले मिलाउने अन्तराष्ट्रिय मान्यता रहेपनि इन्डिगोले बस्ने व्यवस्था नमिलाउँदा यात्रु घण्टाभन्दा बढी समयदेखि एयरपोर्टको कुर्सी र भुइँमा सुतेका छन् ।

एयरलाइन्सले यात्रुलाइ खानाको व्यावस्था मिलाएपनि काखे बालक बोकका महिलाले कष्टपूर्ण समय बिताउन बाध्य भएको विशालले बताए । सबै यात्रुहरु थकित र निराश देखिएका छन्, मानिसहरु चुसो भुइँमा सुतिरहेका छन्, उडानको टुङ्गो नहुँदा यात्रुमा निराशा बढेको उनले बताए ।

सुरुमा घटनाबारे जानकारी नभएको बताएका इन्डिगोका नेपाल प्रतिनिधी धर्मेन्द्र शर्माले टेक्निलल इस्युका कारण फ्लाइट डिले भएको जानकारी दिए । यात्रुको बिचल्लीबारे भने जानकारी नभएको र काठमाडौंको अपरेसन मात्र हेर्ने जिम्मा कम्पनीले दिएको बताए । ‘फ्लाइटको ग्राउन्ड अपरेसन हेर्ने भएकाले फ्लाइट बम्बे मुम्बइ मा अनटाइम ल्यान्ड भएको मात्र थाहा छ,’ शर्माले भने, ‘यात्रुको समस्या बुझ्न भारतमा नै सम्पर्क गर्नुपर्छ ।’

एयरपोर्टमा यात्रुको नाराबाजी

बिहिबार बिहानको फ्लाइट राति १० बजेसम्म पनि हुँन नसकेपछि टर्की उड्ने यात्रुले विमान कम्पनीका कर्मचारीबिरुद्ध भनाभन र नाराबाजी गरेका थिए । राति ११ बजेबाट चलेको भनाभन साम्य नभएपछि एयरलाइन्सले रातको १ बजे फ्लाइट क्यानसल भएको जानकारी दिएको थियो ।

पटकपटक सरेको फ्लाइट मध्यरातमा क्यानसल भएपछि आक्राेश यात्रुले विमान कम्पनी र कर्मचारीविरुद्ध ठूलो स्वरमा नाराबाजी गरेका थिए । टिकट क्यानसल गर्न चाहाने यात्रुलाइ पैसा फिर्ता दिने बताएको एयरलाइन्सले टिकट क्यानसल नगर्ने यात्रुलाई भने शुक्रबार बेलुका टर्की उडाउने आश्वासन दिएको छ ।