तिलोत्तमा बनेको क्रिकेट रंगशालाको उद्घाटन


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ ।

सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका हुन । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गरे ।

गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।

मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि शुरु हुँदैछ । नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफूले रंगशालाको निर्माणमा आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने बताए । उनले रंगशालामा प्रदेश सरकारले गर्नुपर्ने काममा सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताए ।