सरकार ६ महिनामा पूर्ण असफल, सुशासन र विकासका वाचा नारामै सिमितः एमाले सांसद बराल


काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताए ।

सांसद बरालले सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न नसकेको भन्दै विभिन्न सूचकहरूमा सरकार चुकेको आरोप लगाए। उनले सुकुम्बासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शीताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गरे । ‘जान्नेलाई छान्ने’ भन्दै सत्तामा आएको सरकारले आफ्ना मान्छे भर्ती गर्ने उद्देश्यले संस्थानहरूमा हस्तक्षेप गरेको उनको भनाइ छ ।

आर्थिक क्षेत्रबारे चिन्ता व्यक्त गर्दै बरालले भने, ‘राजश्व संकलनमा गिरावट आएको छ, लगानीको वातावरण ठप्प छ र सेयर बजार ओरालो लागेको छ । सरकारले बजेट र मौद्रिक नीतिबाट अर्थतन्त्रलाई चलायमान बनाउन सकेन, जसका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको छ ।’

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभाको भ्रमणबारे टिप्पणी गर्दै सांसद बरालले भ्रमणपछिको प्रस्तुति र एआई प्रविधिको प्रयोग गरी सार्वजनिक गरिएका नाटकीय तस्बिरहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पु¥याएको दाबी गरे । साथै, प्रधानमन्त्रीले महासभाको भ्रमणबारे संसदलाई जानकारी गराउनु पर्नेमा बेवास्ता गरेको भन्दै उनले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको आरोप लगाए ।

बरालले बजारमा व्याप्त महँगी, कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्न सरकारले पूर्ण असक्षमता देखाएको बताए । उनले सरकारका वाचा र व्यवहारमा ठूलो खाडल रहेको भन्दै ६ महिनाको समीक्षा गर्दै गर्दा सुशासनका कुनै पनि सकारात्मक संकेत नदेखिएको जिकिर गरे ।