काठमाडौँ । नेपालमा अति न्यून परिवार २०.३ प्रतिशत रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रहेको कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २०.३ प्रतिशत परिवार अति न्यून रहेको देखिएको हो ।
कार्यालयले जनगणना २०७८ ले संकलन गरेको घरको संरचना बनोट (जग, पर्खाल, छानो, भुई), खानेपानीको मुख्य स्रोत, खाना पकाउन र बत्ती बाल्न प्रयोग हुने इन्धन, शौचालयको सुविधार अन्य घरायसी चल अचल सम्पत्तीको स्वामित्व र भोगचलनका आधारमा हाल देशमा बसोबास गर्ने परिवारको सम्पन्नताको पञ्चम वर्गीकरण निर्धारण गरेको थियो ।
पाँच वर्गीकरणमा पहिलो वर्गमा परेका परिवार अति उच्च, दोस्रोमा पर्ने उच्च, तेस्रोमा पर्ने मध्यम, चौथोमा पर्ने न्यून र पाँचौ वर्गमा पर्ने परिवारलाई अति न्यून वर्ग भनेर परिभाषित गरिएको छ ।
सम्पन्नताको पञ्चम वर्गीकरणले देशका सबै परिवारलाई समान २० प्रतिशतमा विभाजन गर्ने भएकोले सबै तल्लोदेखि माथिल्लो वर्गसम्म पाँचै वर्गमा २० प्रतिशत नै परिवार रहेको देखिए पनि अति न्यून र न्यून वर्गका बिचमा केही फरक देखिएको कार्यालयले जनाएको छ ।
अति न्यून परिवार सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा बढि कर्णाली प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा अति न्यून परिवार ८.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा ५१.३ प्रतिशत अति न्यून परिवार रहेको छ ।
अति उच्च परिवार बागमती प्रदेशमा सबैभन्दा बढि रहेको छ भने सबैभन्दा कम अति उच्च परिवार कर्णाली प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ३८ रहेको छ भने कर्णाली प्रदेशमा ४.२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्