सहकारी समस्या समाधानका लागि छानविन आयोग गठन गरौँः सांसद पोखरेल


काठमाडौं । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानविन आयोग गठन गर्न माग गरेका हुन् ।

पोख्रेलले भने, ‘सहकारीको वर्गिकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने, ऋणीहरुको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुन्छ ।’

कानूनको संशोधन गर्न पनि आवश्यक रहेको उल्लेख गर्दै राज्यले समयानुकुल कानूनको प्रवन्ध गर्न नसक्दा र नियामक निकाय गैरजिम्मेवार हुँदा सहकारीमा समस्या देखापरेको दावी गरे ।

पोख्रेलले कारोबार, व्यापार, पुँजी लुकाउने र कालो धनलाई सेतो बनाउने धन्दाले सहकारी आन्दोलन आज समस्यामा पुगेको बताए ।

उनले भने ‘सामाजिक सहकारीमा समस्या कमै छ । तर धन्दाका लागि खोलिएको सहकारीले सिर्जना गरेको समस्यामा आज आम सहकारी आन्दोलन घाइते बनेको छ । त्यसैले यो आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानविन आयोग बनाउनुपर्छ र जिम्मेवारपूर्वक खोजी गर्नुपर्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानविन आयोग बनाऔँ । सहकारीको वर्गिकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणित गरौँ । ऋणीहरुको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध गरौँ । आन्दोलन बुझेको नियामक निकाय निर्माण गरौँ ।’

उनले राजनीतिक हस्तक्षेपका कारण पनि सहकारीमा समस्या देखापरेका बताए ।