अर्थमन्त्री पुनले भने,‘अहिले सरकारलाई पैसाको अभाव छैन, खर्च गर्ने क्षमता पुगेन’


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता नपुगेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सरकारसँग अहिले प्रायाप्त मात्रामा पैसा रहेको बताए ।

उनले भने,“अहिले सरकारलाई पैसाको अभाव छैन । खर्च गर्ने क्षमता पुगेन । अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको रकम रु.५ खर्ब भन्दा बढी छ । सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्बको छ ।”

उनले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए ।

अर्थमन्त्री पुनले अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको रु. ५ खर्ब भन्दा बढी रकम रहेको जानकारी दिए ।

सरकारलाई विदेशी विकास साझेदारहरूले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको जानकारी गराए ।

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक रुपमा चुनौती दिए पनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए ।

उनले प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समीक्षा गर्नुपर्नेमा जोड दिए । विगतमा वैदेशिक सहायता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भए पनि अहिले ७ प्रतिशतमा सिमित रहेको अर्थमन्त्री पुनको भनाई छ ।

उनले भने,“ निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती छ भन्नुभयो । सरकारले यो सहयोग जुटाउन सक्छ ? भन्नुभयो । अब जुटाउने होइन खर्च गर्ने हो । प्रतिवद्धता भएको रकम समेत खर्च गर्न सकेका छैनाैँ ।”

अर्थमन्त्री पुनले पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समीक्षा जरुरी रहेको बताए । सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अर्थमन्त्री पुनको भनाई थियो ।