काठमाडौँ । ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो’मा सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ ।
एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर र जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ मै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।
काठमाडौं नजिकै तीन बेडरुम सहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदैछ । ७७ लाख ५० हजारमा घरको मूल्य भने काठमाडौँ उपत्यका छेउछाउ र बाहिरी जिल्लामा प्रस्ताव गरिएको हो ।
असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी डेभलपर्सहरूले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन् ।
एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी–छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन् । घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ । यसका अतिरिक्त घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
सयसपटक एक्सपोमा देशभरका व्यवसायी सहभागि हुँदैछन् । एक्सपोमा ठाउँअनुसार घर र जग्गाको मूल्य प्रस्ताव गरिएको छ ।
संयोजक भोयद्योले भने,“ देशका विभिन्न ठाउँका साथीहरूको सहभागिता छ । अहिलेसम्म ७७ लाख ५० हजार रुपैयाँमै घरको अफर आएको छ । यो काठमाडौँ उपत्यकाको छेउ वा जिल्ला बाहिरको हो । पोखराको पनि प्रस्ताव आउँदैछ । विभिन्न जिल्लाका स्टलले सोही ठाउँअनुसारको मूल्य प्रस्ताव गरिेका छन् ।”
उनकाअनुसार ठाउँअनुसारको मूल्य प्राप्त हुने छ । जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसँगै ५ हजार १ रुपैयाँमा टोकन बैना गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन बैना फिर्ता हुने व्यवस्था पनि गरिएको छ । घरजग्गा कारोबार सुस्ताइरहेका बेला काठमाडौंमा आयोजना हुन लागेको एक्स्पोमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिएका हुन् ।
यसपटक काठमाडौँ उपत्यकाबाहिरका जग्गा तथा आवास विकास व्यवसायीको समेत सहभागिताले प्रर्दशनी थप रोचक बनेको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’ नेपालमा सुरक्षित, सुव्यवस्थित एवम् वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ गर्न लागिएको हो ।
नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजना एवम् नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हिरक जयन्तीको ऐतिहासिक अवसरमा चेम्बर समेतको सहकार्यमा आयोजना हुन लागिरहेको एक्स्पोको व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रा. लि.’ ले गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्