उद्यमी र लगानीकर्तामाथि सरकारले राजनीतिकरण गर्‍यो : चौधरी


काठमाडौँ । उद्योगी तथा नेपाली काँगे्रसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको प्रतिकृया दिएका छन् ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणमा सरकारी वकील कार्यालयमा आज उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले उद्यम र उद्यमी तथा करदातामाथि सरकारले राजनीतिकरण गरेको प्रतिकृया दिएका हुन् ।

राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए ।

आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए । उनले भने,“४२ वर्षअघि बाँसबारी जस्तो अनाकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ ।”

नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताउ । उनले भने,“ मू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको हुँ ।”

४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक-प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको चौधरीको टिप्पणी थियो ।

उनले १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गरे ।

आफूले दलगत राजनीति भन्दा माथि रहेर जहिले पनि विकासको राजनीति गरेको बताए ।सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको आरोप लगेपछि छानबिन सुरु भएको छ ।