१०० दिनमा आर्थिक वृद्धिदर खुम्चियो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर खुम्चिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (रातका)ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार यस अवधिमा मौसमी प्रभाव समायोजित तथ्याङ्कले अर्थतन्त्र खुम्चिएको देखाउँछ।

अघिल्लो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर ४.१ प्रतिशत थियो भने गत वर्षको समान अवधि तेस्रो त्रैमासिकमा वृद्धिदर ४.०५ प्रतिशत थियो ।

रातकाका अनुसार मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार पछिल्लो त्रैमासमा समग्र अर्थतन्त्र जम्मा ०.५८ प्रतिशतले मात्र विस्तार भएको छ। यो भनेको अर्थतन्त्र लगभग स्थिर अवस्थामा पुग्नु हो।

राष्ट्रिय लेखा तथ्याङ्क तयार पार्न गणना गरिने अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये ७ वटा प्रमुख क्षेत्रहरू पछिल्लो १०० दिनमा खुम्चिएका देखिन्छन्।

विगत १०० दिनको अवधिमा उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास, निर्माण सामग्रीको आयातमा भएको कमी तथा धान बालीको उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रले लय समात्न नसकेको हो ।

वार्षिक आधारमा उत्पादनमूलक उद्योगको वृद्धिदर ०.५४ प्रतिशतले ऋणात्मक भएको छ भने त्रैमासिक आधारमा अघिल्लो त्रैमासको तुलनामा -०.८३ प्रतिशतले खुम्चिएको छ।

पशुपन्छी, तरकारी तथा फलफूल उत्पादनमा भएको सामान्य सुधारले वार्षिक वृद्धिदरलाई १.५८ प्रतिशतमा धानेको भए तापनि त्रैमासिक आधारमा कृषि क्षेत्रको वृद्धिदर ०.०४ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ।

कोभिड-१९ को धक्कापछि बिस्तारै तङ्ग्रिँदै गरेको होटल तथा पर्यटन व्यवसाय (आवास तथा भोजन सेवा) मा पनि अघिल्लो त्रैमासिकको तुलनामा समीक्षा अवधिमा २.३० प्रतिशतले ऋणात्मक भएको छ।

सरकारले खर्च बढाउन नसक्दा सार्वजनिक प्रशासन, रक्षा तथा अनिवार्य सामाजिक सुरक्षा क्षेत्र सबैभन्दा बढी १.५९ प्रतिशतले ऋणात्मक भएको छ। पुँजीगत खर्च हुन नसकेको र चालु खर्चमा समेत नियन्त्रण गर्नुपरेको अवस्थाले सरकारी संयन्त्र मार्फत अर्थतन्त्रमा प्रवाह हुने पैसा रोकिएको छ।

सरकारले खर्च नगर्दा निर्माण क्षेत्रको वृद्धिदर त्रैमासिक रूपमा १.३२ प्रतिशतमा खुम्चिएको छ। निर्माण क्षेत्रको वार्षिक वृद्धिदर २.७५ प्रतिशत र त्रैमासिक १.३२ प्रतिशतमा खुम्चिनुले मुलुकभित्रका ठुला पूर्वाधार र निजी आवास निर्माणका कार्यहरू सुस्त रहेको देखाउँछ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले समेत निर्माण सामग्रीको आयातमा भएको गिरावटलाई यसको प्रमुख कारण मानेको छ। सिमेन्ट, फलाम र इँटा उद्योगहरू मागको अभावमा बन्द हुने वा न्यून क्षमतामा चल्ने अवस्थामा पुगेका छन्।

सधैं उकालो लाग्ने सूचना तथा सञ्चार प्रविधि क्षेत्र पनि यस अवधिमा ०.१५ प्रतिशतले खुम्चिएको छ। मिडिया क्षेत्रको विज्ञापन र प्रविधि बजेटमा भएको कटौती यसको मुख्य कारण हो।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन उच्च रहे तापनि वास्तविक क्षेत्रमा कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा गम्भीर सङ्कुचन देखिएको छ।

मौसमी प्रभाव समायोजित आधारमा वित्तीय तथा बीमा क्षेत्र -१.०७ प्रतिशतले ऋणात्मक भएको छ।

बजारमा व्यावसायिक आत्मविश्वास खस्किएका कारण निजी क्षेत्रले नयाँ ऋण लिन नचाहेको र बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा यसको प्रत्यक्ष असर मूल्य अभिवृद्धिमा परेको हो।