विनोद चौधरीसँग कुनै प्रतिशोध साँधिएको छैन : गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको बताएका छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले नेपाली काँग्रेसका सांसद विनोद चौधरीमाथि कुनै प्रकारको प्रतिशोध नसाँधिएको स्पष्ट पारे । उनले विधिको शासनलाई पालना गरेर अनुसन्धान गरिएको बताए ।

उनले भने, पूर्ण व्यवसायिक मान्छेले व्यक्तिगत, राजनीतिक वा व्यवसायिक प्रतिशोधलाई मध्येनजर राखेर नहेर्ने भन्दै त्यस्तो व्यक्ति राज्यको निकायमा बस्न लायक पनि हुँदैन,मैले आफ्नो कार्यकालमा कुनै राजनीतिक पूर्वाग्रह राख्दिन, कानूनले दिएको अधिकारलाई दुरुपयोग गरिदैन,लामो बाटोमा हिँडिएको हुनाले कसैप्रति कुनैपनि किसिमको दुर्भाव, पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।

सरकारले पहिला थुन्ने अनि त्यस्पछि सुन्ने भन्ने कुराको जुन गुनासो देखिएपनि सांसद विनोद चौधरीको केसमा त्यस्तो कुरा नदेखिएको गृहमन्त्रीले बताए ।

गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियारको अनुमतिको सम्बन्धमा कानूनले दिएको भन्दा बढी अधिकार प्रदान गरिएको बताए। उनले त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै अधिकारप्राप्त व्यक्तिभन्दा अन्य व्यक्तिको साथसँग हतियार रहेकाले प्रहरीले पक्राउ गर्नुपरेको गृहमन्त्रीको भनाई छ ।

गृहमन्त्रीले भने – ‘अहिले प्रारम्भिक रुपमा हेर्दाखेरी कानूनले दिएभन्दा बढी अधिकार प्रदान गरिएको देखिएको छ । त्यसको छानविन हामीले शुरु गरिसकेका छौँ । हतियारको विवरण पनि मगाइएको छ । हामीले हेर्दाखेरी के थियो भने हतियारको मालिक एकजना, हतियार पाउने व्यक्ति एकजना र चलाउने अधिकारप्राप्त व्यक्ति एकजना । तर चलाउने अधिकार प्राप्त व्यक्तिले होइन चलाउन अधिकार नभएको व्यक्तिको हातमा तत्कालिन अवस्थामा समातिएको भन्ने देखिएर अनुसन्धान गरिएको हो । अदालतको आदेशलाई सम्मानपूर्वक ग्रहण गर्ने कुरा छँदैछ ।’

गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम मात्रै जोडिएको भन्दै त्यसमा अन्य कुनै प्रमाण नभएको बताए । उनले आफ्नो नाम भएको ठाउँमा हस्ताक्षर, ल्याप्चे, निवेदन अथवा सामान्य केवाइसी समेत नभएको दावी गदै अदालतमा आफ्नो बिरुद्ध मुद्दा नभएको र प्रतिवादीहरुले समेत आफ्नो नाम नलिएको जानकारी आफूसँग रहेको बताए ।

गृहमन्त्री लामिछानेले राष्ट्रसेवक प्रहरीहरु कसैको भाडा माझेर र लुगा धोएर नबस्ने भन्दै सुरक्षा चुनौतिको अध्ययन बिना कसैलाई सुरक्षा अधिकृत नदिने बताउनु बताए ।