‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुँदै


काठमाडौँ। ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ आयोजना हुने भएको छ।

यही चैत २३ र २४ गते हुने महोत्सवका लागि नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले सम्झौता गरेका छन्।

महोत्सवमा तीन प्रमुख कार्यक्रम हुने जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी अन्तर्राष्ट्रिय कन्सर्ट हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य उदेश्य लुम्बिनीलाई विश्वव्यापी रूपमा ‘विश्व शान्ति र संस्कृतिको पर्यटकीय गन्तव्य’का रूपमा स्थापित गर्ने हाे ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि पवित्र तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्य हो।

नेपाल आउने आगन्तुकहरूले लुम्बिनीलाई विश्वभर ‘शान्ति र बौद्ध धर्मको मुहान’का रूपमा भएकोले पर्यटन प्रवर्द्धनका साथै मानवताका लागि शान्तिको सार प्रवर्द्धन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

आयोजकका अनुसार कार्यक्रम लुम्बिनी विकास कोषको परिसरमा हुने छ। नेपाल ओभरसिजले आयोजना गर्न लागेको महोत्सवमा नेपाल ओभरसिज चाइनिज एसोसिएसन (एनओसीए), लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसन सह(आयोजक छन्‌।