नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबिच छलफल भएको छ । आज परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबिच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे ।

लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबिच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने उनले बताए ।

व्यवसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको उल्लेख गरे । नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायिहरुलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको उनले उल्लेख गरे ।

यसैबीच परिसंघ र रसियाका तीन व्यवसायिक संस्थाबीच दुई पक्षिय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिेक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो । समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिेक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरेका छन् ।