भोलि राष्ट्रिय चिया दिवस मनाइँदै


‘काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भोलि (वैशाख १५ गते) २७औँ संस्करणकाे राष्ट्रिय चिया दिवस’ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

चिया कृषक, उद्योग, मजदुर, व्यवसायी एवं चियाका पारखीहरूको सहभागितामा विभिन्न कार्यक्रम गरिने भएको हो । आज पत्रकार सम्मेलन गर्दै बोर्डले सो विषयमा जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै बोर्डका निमित कार्यकारी निर्देशक दीपक खनालले नेपाली चियाको दिगो बजारीकरण गर्न भारतीय बजारको विकल्प खोज्न पनि ढिलो गर्न नहुने बताए ।

उनले चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

आर्थिक वर्ष २०७९\८० को तथ्याङ्क अनुसार नेपालमा कुल २० हजार २३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने यस अवधिमा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको बोर्डले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।