लक्जरी रिर्साेटमार्फत नेपाल प्रवेश गर्‍याे भारतको चर्चित फर्च्युन होटेल्स


काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको ३४ स्थानमा ४६ होटलमा चेन रहेको फर्च्युन होटेल्स् नेपाल प्रवेश गरेको छ । पहिलाे अन्तराष्ट्रिय बजारका रूपमा यसकाे चेन नेपाल प्रवेश गरेकाे हाे ।

जैन ग्रुपले भक्तपुरको साँगामा सञ्चालन गरेको होटललाई ‘फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पा’ नामबाट नेपालमा भित्रिएसँगै फर्च्युनले अन्तराष्ट्रिय यात्रा सुरु गरेको हो । रिसाेर्टमा करिब सय करोड लगानी रहेको ग्रुपले जनाएकाे छ ।

उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भारत बाहिर अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हर्षित भएको बताए। “दक्षिण एसिया र नजिकका अरु देशहरूमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ । आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो,” उनले भने, “सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरुले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरुको पहिलो रोजाईमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फर्च्यून होटेल्स्को सुविधाहरु नेपालमा ल्याउन चाहन्छौं ।”

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रख्यात भारतीय चेनसहितको होटलले पर्यटन र रोजगार सिर्जनाले आन्तरिक राजश्व वृद्धि हुने बताए । “फर्च्युनले धार्मिक पर्यटकीय गन्तव्य र भक्तपुरको सांस्कृतिक गहनलाई थप बलियो बनाउने छ,” मन्त्री भण्डारीले भने, “सरकारको प्राथमिकताको क्षेत्रमा हामी छिमेकी देशको लगानी भित्राउन चाहान्छौँ।”

हिलटेक हेल्थ एण्ड होम्स् प्रा.लि.का अध्यक्ष कमल जैनले फर्च्युन होटलसँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउदैँ नयाँ सम्भावनाको ढोका खोलेको बताए । “फर्च्युनका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने छ,” उनले भने, “आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुऱ्याउनेछौँ ।”

यस्ता छन् लक्जरी सुविधा

शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा ६५ कोठा, कटेज तथा आधुनिक सजावटले सजिएका सुइटहरू छन् उपलब्ध छन् । रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता आरामदायी सुविधाहरू उपलब्ध छन् ।

रिसोर्टमा पार्टि र बैठकको लागि पनि छु‌ट्टै क्षेत्रको व्यवस्था रहेको छ । ठूला सामाजिक कार्यहरु, सम्मेलनहरू र विशेष जमघटहरू आयोजना गर्नका लागि सुन्दर ढङ्गले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सवहरूको लागि उत्कृष्ट गन्तव्य भन्ने रिसोर्टको विश्वास छ ।

फर्च्युनले बढाउन सक्छ धार्मिक पर्यटकीय गतिविधी

काठमाडौँ आउने पर्यटकको मुख्य गन्तव्य धार्मिक स्थल रहने गरेका छन् । धार्मिक स्थलको समिपमा नपुगी काठमाडौँ उपत्यका भ्रमणको तलतल मेटिदैन ।

पछिल्लो समय काठमाडौँको कोलाहल भन्दा अलि परको स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन र समेनार तथा तालिमहरु बाहिर फैलिदै गएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरमा रहेको सागाँमा लक्जरी सुविधासहित खुलेको फर्च्यून रिर्साेटले धार्मिक पर्यटकीय गतिविधी बढाउन सक्ने सम्भावना बोकेको छ ।

१४३ फिट अग्लो शिवको विशाल मुर्ती रहकाे सागाँमा भारतीय पर्यटकको चहलपहल धेरै देखिने भएकाले छेउमा रहेको रिर्साेट भारतीय पर्यटकले रात बिताउने उपयुक्त गन्तव्य बनाउन जुटिरहेका छन्फ,र्च्यून रिर्साेटका प्रबन्ध निर्देशक पुल्कित जैन ।

सागाँमा गएर रात बिताउन लक्जरी आवासकाे सुविधा फर्च्यूनले थपेसँगै धार्मिक क्रियाकलाप र मनाेरञ्जनकाे अनुभव एकै स्थानमा गर्न पाउने छन् । यसले भारतीय पर्यटककाे नेपाल बसाइ लम्ब्याउन सक्ने सम्भावना समेत बढाएकाे छ ।

दुइ सभाहलकाे उपलव्धताले पनि काठमाडाैँ वरपर समेनार, तालिम तथा रिफ्रेश हुन चाहनेहरूकाे समेत राेजाइ बन्न सक्ने सम्भावनाकाे ढाेका खाेलेकाे छ ।