अर्थतन्त्र मन्दीमा गएको स्वीकार, वास्तविक क्षेत्रको वृद्धिदर एल सेपमा


काठमाडौं । सरकारको तथ्यांकीय निकाय राष्ट्रिय तथ्यांक कार्यालय (रातका)ले अर्थतन्त्रमा मन्दी रहेको स्वीकार गरेको छ । कार्यालयले मंगलबार चालू आर्थिक वर्षका लागि वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क जारी गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने वास्तविक क्षेत्रको वृद्धिदर एल सेपमा रहेको बताएको हो ।

यसको सोझो अर्थ के हो भने वास्तविक क्षेत्र अर्थात अर्थतन्त्रलाई चलायमान बनाउने औद्योगिक अर्थतन्त्र तीव्र गिरावटको अवस्था बेहोरिरहेको छ र यसको पुनर्बहाली यो वर्ष पनि हुने सम्भावना कम छ ।

सो कार्यालयका अनुसार आव २०७८/७९ मा द्वितीयक क्षेत्रको वृद्धिदर १०.७९ प्रतिशत रहेकोमा सरकारले लिएको नीतिका कारण गत आर्थिक वर्ष २०७९/८०मा यस्तो वृद्धिदर १.४० प्रतिशतमा झर्‍यो । चालू आर्थिक वर्षमा यो स्थिति अझ बिग्रेर १.२० प्रतिशतमा झर्ने राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

द्वितीयक क्षेत्रमा उद्योग क्षेत्रको वृद्धिदर आर्थिक वर्ष २०७८/७९ मा ६.७० प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशतले ऋणात्मक थियो भनेचालु आर्थिक वर्षमा १.६० ले ऋणात्मक हुने रातकाले बताएको छ ।

द्वितीयक क्षेत्रमा रहेको विद्युत र ग्यासको वृद्धिदर गत आवमा १९.८९ प्रतिशत र चालू आवमा १७.४४ प्रतिशतको उच्च वृद्धिको अवस्थामा रहेकालेमात्र समग्र वृद्धिदर सकारात्मक देखाइएको हो ।

उद्योगपछि अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण क्षेत्रको वृद्धिदर पनि ऋणात्मक छ । आर्थिक वर्ष २०७८/७९मा झन्डै ७ प्रतिशतले बढेको निर्माण क्षेत्र गत आर्थिक वर्ष २०७९/८० मा १.१० प्रतिशतले ऋणात्मक भएकोमा चालु आर्थिक वर्षमा निर्माण गतिविधि अझ संकुचित भइ  २.०७ प्रतिशतले ऋणात्मक भएको छ ।

यस्तै, उपभोगमुखी नेपाली अर्थतन्त्रमा वास्तविक आर्थिक क्रियाकलाप दर्शाउने  अर्को महत्वपूर्ण क्षेत्र थोक तथा खुद्रा व्यापार गत आवमा ३.०२ प्रतिशतले ऋणात्मक रहेकोमा चालू आवमा ०.१६ प्रतिशतको झिनो वृद्धिदर रहेको रातकाले जानकारी दिएको छ ।

वास्तविक क्षेत्रको वृद्धिदर खुम्चिनु समग्र आर्थिक गतिविधिमा संकुचनको संकेत हो । जुन चालू आर्थिक वर्षमा पनि सुधार नभएको रातकाद्वारा जारी तथ्यांकले पुष्टि गरेको छ ।