समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त


काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । हिजो (विहिबार) बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सरकारले वैशाख २८ गते शुक्रवारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

वैशाख २५ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लञ्च फर द रिजनल प्रोग्राम फर द साउथ एशिया (आरपीएसए) विषयक कार्यक्रममा महान्यायाधिवक्ता डा। दिनमणि पोखरेल, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति दिने, विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (करिव १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

सिम्बुवा खोला जलविद्युत आयोजनाका लागि करिव १२.३६ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी कारबाही चलाउन अधिकारी तोक्ने, नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने, भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि २०८१, वैशाख २२ गतेदेखि २७ सम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।