अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा



काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन् ।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गरिन् ।

उनले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताइन् ।

सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने उनकाे जिकिर थियाे । उनले अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताइन् । पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको उनकाे भनाइ छ ।

पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको उनले बताइन् । उनले बजारमा व्यवसायीहरुको उधारो उठ्न नसकेको जानकारी दिइन् । पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताइन् ।

उनले होटल, सिमेन्ट,औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरु त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताएकी छिन् । सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात वेसमा लैजान सक्नुपर्ने उनकाे भनाइ थियाे । बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको उनले बताइन् । उनले बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने बताइन् । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धरासयी हुँदै गएको बताए । उनले अहिलेको अवस्थामा चले अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरे । उनले नेपालको भेहिकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख गरे । उनले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको उनकाे दाबी छ । चोर बाटाेबाट पार्टपूर्जाहरू आएका कारण अटो कारोबार कम हुँदै गएको उनकाे भनाइ थियाे । 

उनले अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भएको बताए । तर पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको उनकाे भनाइ छ ।