काठमाडौँ । महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज (नोभेम्बर २५) देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित नेपालमा पनि अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् ।
संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो दैनिक औसत १३७ जनाको हत्या हो ।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा कानुनी तथा नीतिगत प्रयास हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा यस दिनलाई औपचारिक अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्