भुक्तानी सेवा प्रदायक कम्पनी ई-नेट पेमेन्टको अनुमतिपत्र खारेज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने ई-नेट पेमेन्ट प्रा.लि खारेज गरेको छ । राष्ट्र बैंकले ई-नेट पेमेन्टको भूक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो ।

भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ फागुन २१ गते अनुमतिपत्र पाएको यस कम्पनीले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिन देखि लागू हुने गरी खारेज गरिएको बताइएको छ ।

यदि उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।