कर्जा प्रवाह रोक, मागको कमी र अन्तराष्ट्रिय असरको कारण अर्थतन्त्रमा असहजता आयोः सांसद वाग्ले



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लले कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा डा.वाग्लले मुलुकको अर्थतन्त्रमा असहजता अाउनु मुख्य तीन कारण रहेकाे दाबी गरे । उनले राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सिमा, बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असरको भएको उल्लेख गरे ।

उनले बजारमा मागको कमी करिव १० लाख नेपाली युवाहरु विदेश पलायन भएकाले असर परेको बताए । अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री, कस्मेटिक्सको बिक्री समेत कम भइरहेको उनकाे दाबी छ । माइक्रो स्तरमा हेर्दा पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको उनले बताए ।

उनले राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरु परम्परागत नै रहेको बताएका छन् । सहकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँध्ने, कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको भन्दै अब समस्या समाधानको बाटोमा जान आवश्यक रहेको भन्दै आफू सुरुवाती दिनदेखि समाधानमा केन्द्रित भएको उल्लेख गरे ।

उनले विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर भएपनि सार्वजनिक वित्तको चाप रहेको बताए । राजश्व १४ सय २२ अर्ब उठाउने भनेकोमा अहिले ८२० अर्ब मात्रै भएको भन्दै १ हजार माथि पुग्न मुस्किल रहेको बताएका छन् । आगामी बजेट २२ खर्बको ल्याउने प्रधानमन्त्रीले भने पनि हिसाव नमिल्ने उनकाे धारणा छ । उनले आगामी बजेट अब टेड्रिस्नल फ्रेर्मवर्क भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्ने आवश्यकता रहेको बताए ।

डोजरे विकासबाट रिटर्न शुन्य भएका आयोजनाहरुमा लगानी गर्न नहुने उनकाे भनाइ छ । उनले राष्ट्र बैंकले अध्ययन गरेर स्टेवल फण्ड बनाउने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए ।