एनसेलको ‘सधैँ अन’ योजना: डाटा सकिएपछि पनि पैसा नकाटिने


काठमाडौँ । एनसेलले ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले योजना सार्वजनिक गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताए ।

“उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’ अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ,” सीईओ कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउनु यो योजनाको अवधारणा रहेको उनको भनाइ थियो ।

“फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ । हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा ‘सधैँ अन’ हुनुपर्छ,” कायुमोभले भने ।

‘सधैँ अन’ मा के छ ?

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समय सीमा रहेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्।

कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् भने यो ७ दिनको लागि मान्य रहनेछ ।

त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठुलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ ।

यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।

ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्ने कम्पनीले जनाएको छ ।