सरकार निजी क्षेत्रको प्रवद्र्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताए ।

उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताए ।

प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गरे। उनले लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताए ।

प्रधानमन्त्री दाहालले विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने बताए । उनले नेपाल विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको जिकिर गरे ।

उनले स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताए । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए ।