जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

बुधवार काठमडौँमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उनले पर्वतीय देशका मान्यता प्रवद्र्धनका लागि सामुहिक यात्रा सकारात्मक रूपमा अघि बढेको बताए । उनले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तिब्र भएको बताए ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका बासिन्दाहरूको संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पु¥याएको जिकिर गरे ।

उनले हिमाली क्षेत्रका जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै दिगो विकासका विकल्पहरू पहिचान गर्न क्षेत्रीय र विश्वव्यापी सहयोगमा ध्यान केन्द्रित हुने पनि बताए ।

प्रधानमन्त्री दाहालले पर्वतीय मुद्दाहरूलाई अगाडि बढाउन एवं पर्वत र समस्याको दिगो समाधान खोज्नका लागि विश्वव्यापी सहमति र समर्थनको आवश्यकता रहेको बताए । जलवायु परिवर्तनसँग सामना गर्नुपर्ने तत्कालको आवश्यकता बुझेर नै नेपालले अन्तर्राष्ट्रिय संवाद आयोजना गरेको बताए ।