सहुलितपूर्ण ऋण लिएकाहरुले ब्याज अनुदान पाएनन्, साँवा ब्याज भुक्तानी गर्न ऋणीलाई बैंकको पत्र


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जा लिएका ऋणीहरुलाई साँवा ब्याज भुक्तानी गर्न पत्र काटेको छ । सरकारले राष्ट्र बैंकमार्फत उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान उपलब्ध नगराएपछि बैंकले ऋणीहरुलाई साँवा ब्याज भुक्तानी गर्न बैंकले पत्र काटेको हो ।

ब्याज अनुदान रकम सम्बन्धित निकायबाट प्राप्त हुनासाथ उपलब्ध गराउने भन्दै हाललाई कर्जाको सम्पूर्ण किस्ता ब्याज नियमितरुपमा भुक्तान गर्न बैंकले ऋणीहरुलाई अनुरोध गरेको छ ।

“ऋणीले बैंकबाट स्वीकृत भई उपभोग गर्र्दै आएको सहुलियतपूर्ण कर्जामा पाउँदै आएको अनुदान नेपाल राष्ट्र बैंकबाट केहि कारणबस रोकिएको जानकारी गराउँदछौं । उक्त ब्याज अनुदान रकम सम्बन्धित निकायबाट प्राप्त हुनासाथ तहाँलाई सो सुविधा उपलब्ध गराईने जानकारी गराउँदै हाललाई तहाँले उपभोग गर्दै आउनु भएको कर्जाको सम्पूर्ण किस्ता ब्याज नियमितरुपमा भुक्तान गर्नहुन अनुरोध गर्दछौं,” बैंकले ऋणीलाई काटेको पत्रमा भनिएको छ ।

सरकारले सहुलियतपूर्ण कर्जा लिएको ऋणीहरुलाई २०७९ असोजदेखि ब्याज अनुदान उपलब्ध नगराएको नेपाल राष्ट्र बैंकका सहायक सुचना अधिकारी भागवत आचार्यले बताए । सरकारले राष्ट्र बैंकमार्फत ऋणीहरुलाई सहुलियतपूर्ण ऋणको ब्याज अनुदान उपलब्ध गराउँदै आएको थियो ।

सरकारले राष्ट्र बैंकलाई ब्याज अनुदान राष्ट्र बैंकलाई दिने र राष्ट्र बैंकले बैंक वित्तीय संस्था मार्फत त्यो अनुदान ऋणीले पाउँदै आएका थिए । तर सरकारले अनुदान नदिएपछि ऋणीहरुले नै साँवा ब्याज भुक्तानी गर्न बाध्य भएका छन् ।

“अहिले सरकारले सहुलियपूर्ण ऋणको अनुदान रोकेकका कारण बैंक तथा वित्तीय संस्थाहरुले पाएनन् । सहुलियतपूर्ण ऋणमा सरकारले ब्याज अनुदान दिने र त्यो ऋण अनुदान ऋणीले पाउने गरेका थिए अहिले सरकारले नदिएका कारण ऋणीहरुले पाएका छैनन्,” आचार्यले भने, “बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई देखाए पनि त्यो कार्यक्रम नेपाल सरकारको हो । राष्ट्र बैंकले सरकारको कार्यक्रम लागू गर्दिएको हुनाले राष्ट्र बैंकबाट भनेर भनेको हो । यो नेपाल सरकारबाट आउनुपर्ने हो । सरकारले २०७९ असोजदेखि सहुलियतपुर्ण ऋणको ब्याज अनुदान भुक्तानी गरेको छैन ।”