अण्डाको अस्थिर मूल्य, व्यवसायी भन्छन्: ‘व्यवसायी पलायन भएपछि मूल्य बढाउन बाध्य’


काठमाडौँ । पछिल्लो समय उत्पादकहरूले एकलौटी मूल्य निर्धाण गर्न सुरू गरेपछि उपभोक्ताहरू अण्डाको मूल्यमा ठगिन पुगेका छन् । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेपाली बजारमा अण्डाको मूल्यमा तीन पटकसम्म उतारचढाव हुन पुग्यो जसले गर्दा उपभोक्ताहरू सहजै ठगिन पुगेका हुन् ।

देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानिदैँ आएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महार्जनले पछिल्लो समय व्यवसाय क्षेत्रमा अराजकता देखिदैँ आएकोले व्यवसायीहरूले आफ्नो हक हितमा मूल्य निर्धारण गर्दै आएको बताए ।

उनले डेढ महिनाको अवधिमा अण्डाको मूल्य तीन पटकसम्म बढाउनु उचित नरहेको बताउँदै सरकारले यसमा नियमन गर्न आवश्यक रहेको बताए । संघमा आवद्ध रहेका व्यवसायीहरू मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको अध्यक्ष महार्जन बताउँछन् ।

कति बढ्यो मूल्य ?
नयाँ वर्ष सरू भएपछि नेपाल लेयर्स कुखुरापालक संघले पहिलाे पटक बैशाख १९ गते अण्डाको मूल्य निर्धारण गरेकाे थियाे। उक्त निर्णय अनुसार संघले वैशाख २० गतदेखि लागू हुने गरि प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने उल्लेख गरेकाे थियो ।

बैशाख १९ गते भन्दा अगाडी संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठुलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठुलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो । उक्त प्रक्रिया यतिमा मात्र समिति रहँदैन् । संघले मूल्य घटाएको साता दिन नपुग्दै पुन अण्डाको मूल्यमा वृद्धि गर्यो । जुन वैशाख २४ गतेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो । नयाँ मूल्य अनुसार मध्यम आकारकाे अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्ने र ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्ने गरि मूल्य निर्धारण गरेको थियो ।

यो सँगै फेरि संघले गत जेठ ५ गतेदेखि लागू हनेगरि अण्डाको मूल्यमा वृद्धि गरेको छ । संघका अनुसार नयाँ मूल्य मध्यम आकारकाे अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्नेछ ।

किन बढ्छ मूल्य ?
पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याका कारणले अण्डाको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । पोल्ट्री व्यवसायमा लागेका व्यवसायीहरूले बैंकको ऋण तिर्न नसक्दा घरजग्गा नै लिलाम भएको र यस क्षेत्रमा व्यवसायीहरू घट्दै जाँदा उत्पादन पनि घटेकाले बजार मूल्य स्थिर नरहेको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

उनले सरकारको नीति तथा कार्यक्रमले व्यवसायीको हकमा विभिन्न कार्यक्रमहरू ल्याएपनि कार्यन्वयनमा नआउँदा विभिन्न व्यवसाय पलायन हुनु पर्ने अवस्था रहेकाे भन्दै गुनासो गरे । उनले किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य अझै कम रहेको बताए ।

उनले भने, “विगतका दिनहरूबाट उचित मूल्य नपाउँदा धेरै किसान विस्थापित भएको अवस्था छ । अब पनि लागत मूल्य नपाए यो व्यवसाय धरापमा नै पर्छ ।”

पछिल्लाे समय नेपालमा लगभग ७० देखि ८० प्रतिशत अण्डाको उत्पादन घटेका नेपाल कुखुरा व्यवसायी मञ्चको दाबी छ । नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्ष लामिछानेले यस क्षेत्रबाट व्यवसायीहरू पलायन भएपछि बजारकाे माग धान्न नसकेको बताए ।

उनले भने, “पर्याप्त पुँजी नहुँदा व्यवसायीहरूलाई कुखुराका चल्ला हाल्ने अवस्था पनि छैन र उत्पादन कम भएको, लागत मूल्यमा कमि आएको र अण्डाकाे उत्पादनमा कमि आएको छ । नेपालभरि बाट नै व्यवसायीहरू पलायन हुँदै गइरहेका छन् । के सधैँ हामीले तीन सय रुपैयाँ अण्डा बेच्नुपर्ने हो र ?”

उनका अनुसार विगतमा ५० लाख अण्डा उत्पादन गरेपनि पछिल्लो समय २५ देखि २६ लाख मात्रा उत्पादन भएको छ । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दाना मूल्य बढ्दै गएका कारण समस्या पर्दै गएकाे व्यवसायीहरूको दाबी छ ।

अण्डाको तोकेको मूल्य भन्दा पाँच रुपैयाँ कम रकम किसानले पाउने भएकाले मूल्य बढेर किसानलाई फाइदा पुगेको मञ्चको दाबी छ । हाल एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको व्यवसायीले बताउने गरेका छन् । तर मञ्चका अध्यक्ष महार्जनले अहिले अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाउनुपर्ने कारण नै नरहेको बताए ।

उनले भने, “दानाको मूल्य पहिला बढेको थियो अहिले त बढेको छैन । यिनीहरूले पनि आफैँले दाना उत्पादन गरेर सस्तो दाना खुवाँउछन् भन्ने केही पुष्टी भएकाे छ । अहिले तीन प्रकारको मूल्यमा अण्डाको भाउ बढाउनु कुन आधार हो भनेर चिन्ने कुनैपनि ठाउँ छैन् यसको मूल्य बढाउनुको कारण के हो भनेर सरकारले पनि यसमा ध्यान दिनुपर्ने थियो । सरकार चुप लागेर बसेको छ ।”