सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरू पुन आन्दोलनमा


काठमाडाैँ । सहकारी पीडितहरूको सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रवार काठमाडौँमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौँको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरू गरेका हुन् । सहकारी पीडित वचतकर्ताहरू संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरूको वचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । उनले सरकारले सञ्चालकलाई कारबाही गरी वचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरूको माग रहेको बताए ।

उनले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताए । उनले सहकारी पीडितहरूको आन्दोलन अन्तिम लडाईको रूपमा अघि बढेको बताए । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिए ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे,हाम्रो वचत रकम फिर्ता गर,बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।