सञ्चालनमा रहेका फन्डको कमजोर प्रर्दशनबिच नयाँ‘नबिल ग्रोथ फन्ड’को निष्कासन


काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रवर्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने ‘नबिल ग्रोथ फण्ड’ को ८५ करोड रुपैयाँ बराबरको इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ ।

प्रति इकाई १० रुपैयाँ अङ्कित दरका कुल १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई नबिल बैंक र नबिल इन्भेष्टमेन्टका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

इच्छुक लगानीकर्ताले छिटोमा मंसिर १४ गते र ढिलोमा मङ्सिर २३ गतेसम्म न्यूनतम १०० इकाई (एक हजार रुपैयाँ) देखि अधिकतम १ करोड इकाई (दश करोड रुपैयाँ) सम्मका लागि ‘मेरो शेयर’ वा सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यस नयाँ बन्दमुखी योजनामा सर्वसाधारणको पुँजी तान्न खोजिरहँदा नबिल इन्भेष्टमेन्टले नै सञ्चालन गरिरहेका पुराना म्युचुअल फण्डहरूको कमजोर प्रदर्शनले भने लगानीकर्तामाझ प्रश्न खडा गरेको छ ।

नबिलका खुलामुखी योजनाहरू (नबिल फ्लेक्सी क्याप फन्ड र एनआई ३१) को अवस्था सामान्य रहे पनि, नयाँ निष्काशन जस्तै प्रकृतिका पुराना बन्दमुखी योजनाहरूको कार्यसम्पादन निराशाजनक देखिएका छन् ।

पछिल्लो वित्तीय विवरण हेर्दा प्रति इकाई १० रुपैयाँमा निष्काशन गरिएका नबिलका पुराना योजनाहरू ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र ‘नबिल ब्यालेन्स्ड फन्ड–३’ ले लगानीकर्ताको साँवा मूल्य समेत जोगाउन सकेका छैनन् ।

हाल तिनको वास्तविक खुद सम्पत्ति मूल्य (न्याभ) घटेर क्रमशः ९ रुपैयाँ ६७ पैसा र ९ रुपैयाँ ८५ पैसामा झरेको छ । त्यति मात्र होइन, अघिल्लो वर्ष १३ प्रतिशत नगद लाभांश दिएका यी दुवै फण्डको प्रतिफल पछिल्लो वर्ष ह्वात्तै घटेर क्रमशः ३.५ प्रतिशत र २.५ प्रतिशतमा खुम्चिएको छ, जुन बैंकको सामान्य बचत खाताले दिने ब्याजदरभन्दा पनि कम हो ।

आफ्नै पुराना योजनाहरूको कमजोर प्रदर्शनकै कारण दोस्रो बजार (नेप्से) मा नबिलको ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ यतिबेला करिब ९ रुपैयाँ १० पैसामै सहजै किन्न पाइन्छ ।

आफ्नै पुरानो फन्ड बजारमा ९ रुपैयाँ १० पैसामा फालाफाल पाइने र वर्षभरिमा जम्मा ३ प्रतिशतको हाराहारीमा मात्र लाभांश आउने अवस्था रहँदा, नयाँ फन्डलाई प्रति इकाई १० रुपैयाँ तिरेर लामो अवधिका लागि पुँजी अड्काउनु आम लगानीकर्ताका लागि कत्तिको लाभदायक हुन्छ भन्ने विषय भने उठेको छ ।

फन्डको प्रदर्शन कमजोर भएर लगानीकर्ताले २.५ प्रतिशत मात्र प्रतिफल पाउँदा पनि योजना व्यवस्थापकले वार्षिक १.७ प्रतिशत शुल्क नियमित रूपमा काट्ने भएकाले सर्वसाधारणको हातमा पर्ने खुद नाफा झन् न्यून हुने गरेको तथ्याङ्कले देखाएको छ ।

यद्यपि, सेयर बजार तल्लो विन्दुमा रहेको बेला सङ्कलन हुने पुँजीले सस्तो मूल्यमा राम्रा कम्पनीका सेयर किन्न पाउने भएकाले भविष्यमा बजार बढ्दा सुधार आउने व्यवस्थापकको अपेक्षा छ ।