मुलुकमा समाजवादको आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम आएको छ : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै नेता पौडेलले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरे ।

उनले भने नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत छन्, पछिल्लो समय सर्वसाधरणमा छाएको निरासा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको छ । अलमलिएको मुलुकको विकासको प्रयासलाई कार्यक्रमले गति दिनेछ ।

पौडेलले २०७४ को निर्वाचनपछि देशले सामाजिक आर्थिक,भौतिक र मानविय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढे पनि बीचमा रोकिएको देशको विकास अगाडि बढाउने कार्यक्रम आएको दाबी गरे ।

उनले नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्रयाकमा ल्याउने बताउँदै नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको उल्लेख गरे ।

कार्यक्रमले देशको भौतिक र मानविय विकासमा ध्यान दिएको बताए ।

पौडेलले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि उल्लेख गर्दै आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको बताए ।