आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस


काठमाडौँ। आज तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ। विभिन्न कार्यक्रम गर्दै बुधवार सगरमाथा दिवस मनाइँदैछ ।

सन् १९५३ मे २९ तारिखमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकेको दिनको स्मरण गर्दै वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनइदै आइएको छ ।

हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। आजको दिन किर्तीमानी आरोही तथा सहयोगीहरुलाई औपचारिक कार्यक्रममा सम्मान गर्ने गरिँदै आइएको छ ।

यो वर्ष कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्। यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान पनि बनेको छ।

जलवायु परिवर्तनको असरले हिँउ पग्लदै गरेको, सगरमाथा क्षेत्रमा फोहर बढ्दै गएको जस्ता विषयमा पनि आजका दिनमा चर्चा हुने गरेको छ ।