लगानीकर्ताको बजेट प्रतिक्रिया : अब मौद्रिक नीतिको प्रतिक्षामा छौँ


काठमाडौं । सरकारले हिजो (मंगलबार) आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्‍याे । बजेटमा सेयरबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड संस्थागत क्षमतामा सुधार गरिने उल्लेख गरिएको छ ।

सरकारले बजेटमा सिडीएससी एण्ड क्लियरिङ हाउस लिमिटेड र नेपाल स्टक एकसचेन्जको संरचनागत सुधारको विषय साथै वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी संस्थागत व्यवस्था मिलाइने विषय समेटेकाे छ ।

त्यस्तै पुँजी बजारको दायरा फराकिलो बनाउन निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य धितोपत्र बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा समेटिएका माथिका यि विषयहरु औपचारिकताको लागि मात्रै ल्याइएकाले कार्यान्वयन हुनेमा शंका रहेको सेयरबजारका विज्ञहरूले टिप्पणी गरेका छन् ।

बजारलाई नकरात्मक प्रभाव पार्ने विषयहरु केही नआएको हुनाले आत्तिनुपर्ने अवस्था नदेखिएको उनिहरूको भनाई छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले करको विषयमा हामीले उठाएका विषयहरु सम्बोधन हुन नसकेपनि सेयरबजारको लागि बजेट नकरात्मक नदेखिएको बताउँछन् ।

ढकाल भन्छन् “बजारमा भएको हल्ला जस्तै वार्षिक ४० लाख भन्दा माथिको कारोबारमा ३९ प्रतिशतसम्म कर लगाउने कुरा आएको थियो जसले गर्दा केही सशंकित भयौ तर आर्थिक विधेयकमा केही नआएको हुनाले प्रष्ट भयौँ ।”

लाभकरलाई नै अन्तिम कर भन्ने विषयमा विधेयकमा केही उल्लेख नभएको हुँदा गतवर्ष अर्थ मन्त्रालयले दिएको लाई नै अन्तिम कर मानेर अगाडी बढ्ने अध्यक्ष ढकाल बताउँछन् ।

चालु आर्थिक वर्षमा लाभकरको विषयमा विरोध भएपछि अर्थमन्त्रालयले प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको थियो ।

अर्थ मन्त्रालयले सेयर कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने उल्लेख गरेको छ ।

लगानीकर्ताको माग बमोजिम बजेटमा कुनै विषयहरु सम्बोधन नभएको सेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् ।

“सेयरबजारको लागि सधैंजसो झै कर्मकाण्डी बजेट आएको छ,” फुल्लेले भन्छन्,“कहिलेकाँही सेयरबजारको कुरा नै बजेटमा छुटाइन्छ त्यो भने छुटाइएन त्यही नै ठुलो कुरा भयो,औपचारिकताको लागि धितोपत्र बोर्डको संस्थागत सुधार, नेप्से र सिडीएससीको संरचनागत सुधार गर्ने कुरा उल्लेख गरिएको छ ।”

फुल्लेलका अनुसार बजेट भन्दा पनि हामीलाई महत्पूर्ण भनेको नेपाल राष्ट्रबैंकले ल्याउने नीतिमा परिर्वतन हुन्छ कि हुँदैन भन्ने हो ।

“बजारमा तरलता सहज हुँदा व्याजदर घट्दा लगानीकर्ता कर्जा लिएर लगानी गर्न डराइरहेको अवस्था छ ।” फुल्लेल भन्छन्, “राष्ट्रबैंकले नीतिमा कतिबेला के परिर्वतन गर्छ, अझै कसिलो नीति ल्याउँछ र विचल्ली हुन्छ भन्ने त्रास व्याप्त हुँदा बजार प्रभावित बन्यो ।”

बजारमा बैक तथा वित्तीय क्षेत्रको बाहुल्यता रहेकाले अब राष्ट्रबैंकले ल्याउने मौद्रिक नीति नै महत्पूर्ण रहेको फुल्लेलको भनाई छ ।

सेयरबजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगाना सेयरबजारको लागी बजेट खासै उत्साहजनक नदेखिएको बताउँछन् ।
केही दिन अगाडी देखि ३९ प्रतिशत करको विषय उठिरहेको अवस्थामा बजेट आएको देखिएन जसले गर्दा सकरात्मक नै लिनुपर्ने ढुंगानाको भनाई छ ।

ढंगाना भन्छन्, “धितोपत्र बोर्ड, नेप्से, सिडीएससीको आधुनिकिरण गर्ने भनिएको छ यी विषयहरु औपचारिकता मात्रै हुन कि कार्यान्वयन ल्याउन खोजिएको हो काम गरेपछि थाहा होला ।”

बजेट बजारप्रति सकरात्मक नै देखिएको हुँदा सेयरबजारमा गरिएको कसिलो नीति मौद्रिक नीतिमार्फत खुकुलो हुँदै जानेछ भन्ने अपेक्षा रहेको ढुंगानाले बताए ।